सुदूरपश्चिममा १० वर्षकाे जनसंख्या: पहाडमा ओरालोतर्फ, भरिँदै तराईका जिल्ला

सुदूरपश्चिममा १० वर्षकाे जनसंख्या: पहाडमा ओरालोतर्फ, भरिँदै तराईका जिल्ला

सुदूरपश्चिम प्रदेशका ५ वटा पहाडी जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ ।

नेपाल पपुलेसन

२०७८ सालको जनगणनाअनुसार प्रदेशभित्रका तराईका जिल्लाको जनसंख्या वृद्धिदर उच्च देखिए पनि पहाडी जिल्लामा जनसंख्या घट्दो क्रममा रहेको छ ।

प्रदेशको जनसंख्या १० वर्षमा १ लाख ४२ हजार २६६ ले वृद्धि भएको छ । २०६८ सालको जनगणनाअनुसार सुदूरपश्चिमको जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा २०७८ मा २६ लाख ९४ हजार ७८३ पुगेको छ । प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर ०.५२ प्रतिशत रहेको तथ्याङ्क कार्यालय डोटीले सार्वजनिक गरेको विवरणले देखाउँछ ।

प्रदेशको जनसंख्या वृद्धि भए पनि यहाँका ५ वटा पहाडी जिल्लाको जनसंख्या वृद्धिदर भने ऋणात्मक रहेको २०७८ को जनगणना प्रतिवेदनले देखाएको छ ।

अछामको जनसंख्या वृद्धिदर १.१३ प्रतिशतले ऋणात्मक रहेको छ । २०६८ मा यस जिल्लाको कुल जनसंख्या दुई लाख ५७ हजार ४७७ रहेकोमा २०७८ को जनगणनामा दुई लाख २८ हजार ८५२ मात्रै रहेको छ ।

बैतडीको जनसंख्या वृद्धिदर पनि ऋणात्मक छ । २०६८ को जनगणनामा २ लाख ५० हजार ८९८ जनसंख्या रहेको यस जिल्लामा पछिल्लो जनगणनामा दुई लाख ४२ हजार १५७ कायम भएको छ ।

२०६८ मा २ लाख ११ हजार ७४६ रहेको डोटीको जनसंख्या १० वर्षमा ६ हजार ९१५ ले घटेको छ । यस जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक ०.३२ प्रतिशत रहेको छ ।

बझाङको जनसंख्या वृद्धिदर पनि ०.३० प्रतिशतले ऋणात्मक रहेको छ । २०६८ मा १ लाख ९५ हजार १५९ पुगेको यस जिल्लाको जनसंख्या १० वर्षमा एक लाख ८९ हजार ८५ मा झरेको छ । डडेल्धुराको जनसंख्या १० वर्षमा २ हजार ४९२ ले घटेको छ । यस जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर पनि ०.१७ प्रतिशतले ऋणात्मक रहेको छ । २०६८ मा यस जिल्लाको जनसंख्या १ लाख ४२ हजार ९४ रहेकोमा पछिल्लो जनगणनाअनुसार १ लाख ३९ हजार ६०२ कायम भएको छ ।

दार्चुला र बझाङ जिल्लाको जनसंख्यामा भने थोरैले वृद्धि भएको जनगणनाको पूर्ण प्रतिवेदनले देखाएको छ । दार्चुलाको जनसंख्यामा १० वर्षको अवधिमा ३६ जना थपिएका छन् । २०६८ को जनगणनाअनुसार यस जिल्लाको कुल जनसंख्या १ लाख ३३ हजार २७४ रहेकोमा २०७८ मा १ लाख ३३ हजार ३१० पुगेको छ । तथ्याङ्क कार्यालय डोटीले दार्चुलाको जनसंख्या स्थिर रहेको बताएको छ ।

पहाडी जिल्लाहरुमध्ये बाजुराको जनसंख्या वृद्धिदर भने धनात्मक देखिएको छ । यस जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत रहेको छ । २०६८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १ लाख ३४ हजार ९१२ रहेकोमा २०७८ मा १ लाख ३८ हजार ५२३ पुगेको छ ।

पहाडी जिल्लाबाट तीव्र बसाइसराइका कारण तराईका जिल्लाहरुमा जनसंख्या बढ्दै गएको छ । कैलालीको वार्षिक जनसंख्या वृद्धिदर १.४८ प्रतिशत रहेको छ । २०७८ को जनगणनाअनुसार कैलालीको कुल जनसंख्या ९ लाख ४ हजार ६६६ पुगेको छ । २०६८ मा यस जिल्लाको जनसंख्या ७ लाख ७५ हजार ७०९ रहेको थियो ।

यस्तै कञ्चनपुरको जनसंख्या वृद्धिदर १.२५ रहेको छ । २०७८ को जनगणनाअनुसार यस जिल्लाको कुल जनसंख्या ५ लाख १३ हजार ७५७ पुगेको छ । २०६८ को जनजणनामा यस जिल्लाको जनसंख्या ४ लाख ५१ हजार २ ४८ रहेको थियो ।

रोजगारीको अभाव, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताहरु उपलब्ध नहुनु, कृषि पूर्वाधारको कमीका कारण बसाइसराइ तीव्र हुँदा पहाडी जिल्लाको जनसंख्या ऋणात्मक भएको जनसंख्याविद्हरु बताउँछन् ।