बसाँइ सरेर पहाड छोड्नेमा बाहुन, क्षेत्री धेरै

बसाँइ सरेर पहाड छोड्नेमा बाहुन, क्षेत्री धेरै

नेपाल पपुलेसन

धनकुटा -करिब दुई दशकअघिसम्म धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडामा ५० भन्दा बढि परिवारको बसोबास थियो। त्यहाँ क्षेत्री, ब्राह्मण, लिम्बू, तामाङलगायतका जातजातिको बसोबास रहेको थियो। अहिले बसाइँसराइले ५० परिवार घटेर २८ मा सीमित भएका छन्। अझ रोचक कुरो त बसाइँसरेर जाने सबै क्षेत्री र ब्राह्मण जाति छन्। अहिले यहाँ ब्राह्मण र क्षेत्रीको बसोबास नै छैन।

स्थानीय दीर्घबहादुर तामाङ सुरु सुरुमा आफूले थाहा पाउँदासम्म मिश्रित बसोबास रहे पनि अहिले लिम्बू र तामाङ मात्र रहेको बताउछन् । तामाङ भन्छन् “पहिले त सबै खाने मानिसको बसोबास थियो पछि अलिअलि गर्दै ब्राह्मण र क्षेत्री हिँड्न सुरु गरेपछि हामी मात्रै रह्यौँ।” बसाइँ सर्न मन त लाग्छ तर जन्मगाउँ सम्झँदा जति समस्या भए पनि कतै जान मन लाग्दैन, तामाङ थप्छन् ।

चौबिसे गाउँपालिककै वडा नम्बर ४, बाजथलामा पनि केही वर्षअघिसम्म करिब ३० परिवारको बसोबास रहेको थियो। यहाँ ब्राह्मण र तामाङ जातिका मानिसको आधा आधा जस्तो बसोबास थियो। अहिले तामाङ जातिका मानिस त्यहीँ बसोबास गरिरहेका छन् तर ब्राह्मणका दुई परिवारबाहेक सबै बसाइँसरेर हिँडिसकेका छन्। पहिले मिश्रित बसोबास भएपछि अहिले अरू जाति बसाइँ सरेर गइरहेको स्थानीय कृष्णबहादुर तामाङ बताउछन् । सोही वडाको पौवामा अहिले केही घर याक्खाको मात्र बसोबास छ। यहाँ पनि पहिले मिश्रित बसोबास थियो। स्थानीय कौशिला देवानले भन्छिन्, “छिमेकी सबै बसाइँ सरेर गइसकेका छन्। छिमेकी गएको देख्दा जाउँजाउँ लाग्छ तर गाउँ सम्झँदा कतै जान मन लाग्दैन।”

यी स्थानबाहेक अन्य बसाइँसराइको अवस्था उस्तै छ। जिल्लाबाट बसाइँ सर्ने अधिकांश ब्राह्मण जातका मानिस रहेका छन्। त्यसपछि क्षेत्री, नेवार, याक्खा र राई जातिका रहेका छन्। नयाँ बसाइँसराइ गर्नेमा तामाङ, आठपहरिया, लिम्बू र मगर जाति रहेका छन्।

२०६८ सालको जनगणना अनुसार धनकुटाको जनसङ्ख्या एक लाख ६३ हजार ४१२ रहेको छ तर २०७८ सालमा आइपुग्दा जिल्लाको जनसङ्ख्या १२ हजार ८१३ ले घटेर एक लाख ५० हजार ५९९ भएको छ। धनकुटामा २०६८ सालमा आठ हजार ८४८ रहेको ब्राह्मण जातिको जनसङ्ख्या अहिले दुई हजार ६९२ घटेर छ हजार १५६ मा झरेको छ। यो अघिल्लोको तुलनामा करिब ३०.४२ प्रतिशतले घटेको हो। त्यस्तै ३३ हजार २५३ रहेको क्षेत्रीको जनसङ्ख्या रहेका २०७८ सालमा ९.७४ प्रतिशतले घटेर ३० हजार ११ मा झरेको छ। ३२ हजार ११९ राईको जनसङ्ख्या ७.६१ प्रतिशतले घटेर अहिले २९ हजार ६७४ पुगेको छ।

नेवार जातिको जनसङ्ख्या अघिल्लोभन्दा ११.६३, याक्खाको १२.५७ प्रतिशतले घटेको छ। सबैभन्दा कम घट्नेमा तामाङ ५.९३, लिम्बू २.११, र मगर १.९३ प्रतिशत रहेको छ। २०७८ सालको जनगणना अनुसार जिल्लामा नेवार जातिको जनसङ्ख्या छ हजार ७४५, याक्खा जातिको चार हजार ३४४, तामाङ नौ हजार ८८६, लिम्बू २० हजार ८५५, आठपहरिया पाँच हजार ३६५ र मगर १५ हजार ५८० रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ ।

तथ्याङ्क कार्यालय धनकुटाका सूचना अधिकारी युवराज महत २०६८ सालको भन्दा २०७८ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेकाले बसाइँसराइकै कारण जनसङ्ख्या घटेको हुनसक्ने बताउनुहुन्छ।

२०६८ सालमा जनगणना हुँदा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १४ हजार ४१५ रहेको थियो। २०७८ सालमा त्यो सङ्ख्या घटेर नौ हजार ५४२ भएको छ। महत भन्नुहुन्छ, “यो जन्म मृत्यु र वैदेशिक रोजगारीमा जानेको अनुपात हेर्दा जनसङ्ख्या बढ्नुपर्ने हो तर घट्दो दरमा छ यो बसाइँसराइकै कारणले हो।”

ब्राह्मण, क्षेत्री जाति बढी घुमन्ते भएकाले बसाइँसराइ बढी गर्ने गरेको धनकुटा कुरुलेका गोपीकृष्ण भण्डारी बताउनुहुन्छ। भण्डारी भन्नुहुन्छ, “हजुरबुवा पुस्ता कहाँबाट आएर यहाँ बस्नुभयो। हामीसम्म जसोतसो बस्यौँ, धेरै त हाम्रै पुस्ता यहाँबाट पनि हिँडिसके। हाम्रो छोरा नाति पुस्ता पुग्दा यहाँबाट सबै कहाँ पुगिसक्छन्।”

त्यसो त ब्राह्मण र क्षेत्री अन्य जातिको तुलतामा बढी बसाईसर्ने सामान्य रहेको धनकुटा बहुमुखी क्याम्पसका ग्रामीण विकास विषयका उपप्राध्यापक दिनेश अधिकारी बताउनुहुन्छ। विभिन्न अवसरको सम्भावनाले ब्राह्मण र क्षेत्री बसाइँ सर्ने तर जनजाति र दलित समुदायलाई यी तत्वले खासै प्रभाव नपार्ने उहाँको बुझाइ छ। दलित समुदाय आर्थिक समस्याका कारण बसाइँ नसर्ने र जनजाति प्रकृतिको सामिप्यमा बस्ने, प्रकृति पूजक, भूगोलसँगको सम्बन्धका कारण कम बसाइँ सर्ने गरेको बताउनुहुन्छ। त्यस्तै भूगोल छाड्दा संस्कृति गुमाइन्छ भन्ने मान्यता रहेकाले उनीहरू कम बसाइँ सर्ने उहाँको भनाइ छ।