पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

नेपाल पपुलेसन

नवलपुर- नवलपरासी बर्दघाट सुस्तापूर्वको पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसङ्ख्याको चाप बढेको हो ।

पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि दुईवटा स्थानीय तहको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या पनि विस्तारै घट्दो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षमा बढेको देखिन्छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको छ । तथ्याङ्क कार्यालय नवलपुरले दिएको जानकारीअनुसार बौदीकालीको जनसङ्ख्या वृद्धिदर ऋणात्मक तीन दशमलव १४ र बुलिङटारको जनसङ्ख्या वृद्धिदर ऋणात्मक दुई दशमलव ५७ रहेको छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा १९ हजार एक सय २२ जनसङ्ख्या रहेको बुलिङटार गाउँपालिकाको जनसङ्ख्या १० वर्षमा घटेर १४ हजार छ सय ३७ पुगेको छ भने २०६८ मा १५ हजार सात सय ३४ जनसङ्ख्या रहेको बौदीकालीको जनसङ्ख्या १० वर्षमा घटेर ११ हजार तीन सय ३८ पुगेको छ ।

त्यसैगरी मुख्य राजमार्गले नछोएको अर्को स्थानीय तह हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । विसं २०६८ को जनगणनामा २५ हजार ६५ जनसङ्ख्या रहेको हुप्सेकोटको जनसङ्ख्या १० वर्षपछि २०७८ मा २६ हजार पाँच सय ८३ पुगेको हो ।

यता पूर्व पश्चिम राजमार्गले छोएका स्थानीय तहको जनसङ्ख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाको जनसङ्ख्या वृद्धिदर जिल्लामा सबैभन्दा बढी छ । राष्ट्रिय जनगणना २०७९ अनुसार तीन दशमलव १७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसङ्ख्या ८६ हजार आठ सय २१ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसङ्ख्या ६२ हजार चार सय २१ रहेको थियो ।

जनसङ्ख्या बढ्ने स्थानीय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । दुई दशमलव ९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसङ्ख्या ५८ हजार तीन पुगेको छ । विसं २०६८ मा देवचुलीको जनसङ्ख्या ४२ हजार ६३ रहेको थियो । दुई दशमलव ८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैँडाकोट नगरपालिकाको जनसङ्ख्या २०७९ मा ७९ हजार तीन सय ४९ पुगेको छ । यहाँ दश वर्ष अगाडि ५८ हजार आठ सय ४१ जनसङ्ख्या रहेको थियो ।

त्यसैगरी राष्ट्रिय जनगणना २०७९ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव १६ प्रतिशत रहेको छ । विसं २०६८ को जनगणनामा ५४ हजार एक सय ४० जनसङ्ख्या रहेको यो नगरपालिकाको जनसङ्ख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव ४६ प्रतिशतले बढेको छ । विसं २०६८ को राष्ट्रिय जनगणनामा ३२ हजार नौ सय ४३ जनसङ्ख्या रहेको यहाँको जनसङ्ख्या दश वर्षमा बढेर ३८ हजार तीन सय ७० पुगेको छ ।

ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसङ्ख्या ऋणात्मक अवस्थामा पुगेको देखिएको हो । बढ्दो बसाइँसराइको कारणले पहाडमा जनसङ्ख्या घट्दै गएको र यो चिन्ताको विषय भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । “गाउँपालिकाले बसाइँसराइ रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिएको छ”, उनले भने , “गुणस्तरीय शिक्षा र रोजगारीका लागि मानिस बसाइँसराइ गरिरहेका छन्, यसलाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौँ ।” उहाँका अनुसार गाउँमा नै व्यक्तिलाई मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्नसक्ने बनाउन कृषिमा आधारित रोजगार र शिक्षालाई सहज र गुणस्तरीय बनाउन गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको छ ।

गाउँमा किन जनसङ्ख्या घट्दै छ त्यसतर्फ स्थानीय तहले गम्भीर भएर सोच्नुपर्ने मध्यविन्दु बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक करुण लम्सालले बताए । “गाउँमा जनसङ्ख्या टिकाउने हो भने पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउनेतर्फ स्थानीय तह लाग्नुपर्छ”, उनले भने , “पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसङ्ख्या गाउँमा पनि टिक्छ ।”