जनगणनाको तथ्याङ्क : राष्ट्रिय सुरक्षामा देखिएका चुनौतिका विषयमा अन्तरक्रिया

जनगणनाको तथ्याङ्क : राष्ट्रिय सुरक्षामा देखिएका चुनौतिका विषयमा अन्तरक्रिया

नेपाल पपुलेसन

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को नतिजा र नेपालको सुरक्षा व्यवस्था बिषयमा अन्तक्र्रिया कार्यक्रम भएको छ ।
असार २२ गते सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा भएको कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरु लगायत करिब २०० जना सशस्त्र प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका जनसंख्या शाखा निर्देशक ढुण्डिराज लामिछानेले ‘राष्ट्रिय जनगणना २०७८ नतिजाको सारांश’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा जनगणना गर्ने विधि, प्रक्रिया र यसको संवैधानिक एवं कानूनी हैसियत आदिका बारेमा स्पष्ट पारिएको थियो । राष्ट्रिय जनगणना २०७८ को नतिजाका विभिन्न पक्षहरु पनि निर्देशक लामिछानेले आफ्नो कार्यपत्रमा समावेश गर्नुभएको थियो ।


सोही कार्यक्रममा त्रिभूवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस)का प्रमुख प्रा.डा.योगेन्द्र बहादुर गुरुङले Population and National Security some key indicators विषयमा अर्को कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रा.डा. गुरुङले नेपालको जनसांख्यिक वितरण, जातीय, भाषिक, धार्मिक बनावट, नेपाल भारतको सिमा क्षेत्रको जनघनत्व र त्यसको सुरक्षा संवेदनशीलता आदिका बारेमा स्पष्ट पार्नु भएको थियो ।


सहभागीहरु सशस्त्र प्रहरी अधिकृतहरुले जनगणनाको नतिजा र यसले राष्ट्रिय सुरक्षामा पार्ने प्रभावका बारेमा आफ्नो अनुभव सहित विभिन्न जिज्ञासा राखेका थिए । सहभागीहरुका जिज्ञासालाई कार्यपत्र प्रस्तोताहरुले स्पष्ट पार्नु भएको थियो ।
कर्यक्रममको अन्त्यमा निर्देशक लामिछानेले सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याललाई राष्ट्रिय जनगणना २०७८ का विभिन्न प्रतिवेदनहरु हस्तान्तरण गर्नु भएको थियो ।