काठमाडौं- ‘जनगणना कमाण्डर’ ढुण्डिराज लामिछानेलाई सरकारले यस वर्षको निजामती सेवा पुरस्कार प्रदान गरेको छ ।
केन्द्रीय तथ्याङ्क विभाग र हालको राष्ट्रिय तथ्याङ्क कार्यालयमा विगत २७ वर्ष देखि कार्यरत लामिछानेलाई सरकारलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिने हिजो घोषणा गरेको हो । लामछिाने सहित १० जना निजामती कर्मचारीले यो पुरस्कार पाएका छन् ।
राष्ट्रिय जनगणना २०७८ सफल पार्नका लागि तत्कालिन केन्द्रीय तथ्याङ्क विभागको जनसंख्या शाखामा प्रमुखको जिम्मेवारी दिइएको थियो । २०७३ साल देखि जनसंख्या शाखामा कार्यरत उपसचिव लामिछानेको नेतृत्वमा १२ औ जनगणना सम्पन्न भएको हो ।
लामिछाने कै नेतृत्वमा जनगणनाका तयारी,सञ्चालन र नतिजा सार्वजनिक गर्ने काम भएका हुन् । राष्ट्रिय जनगणनाको तयारीकै क्रममा २०७८ बैशाखमा कोरोनाको प्रकोप बढेका कारण स्थगित भएको थियो । जेठ २५ देखि असार ८ सम्म जनगणनाको तयारी भए पनि कोरोनाले स्थगित भएपछि कातिक २५ देखि मंसिर ९ गते सम्म भएको थियो ।
जनगणना जस्तो चुनौतिपूर्ण कामलाई सहज ढंगले सञ्चालन र त्यसको नतिजा पनि समयमा नै सार्वजनिक गर्ने काममा लामिछानेको योगदान महत्वपूर्ण रहेको कार्यालयका कर्मचारीहरु बताउछन् । लामिछानेको अग्रसरतामा राष्ट्रिय जनगणनामा मातृमृत्यू दरको तथ्याङ्क संकलन गरिएको थियो । जनगणनामा मातृमृत्यूदर सम्बन्धी तथ्याङ्क नेपालमा पहिलो पटक संकलन गरिएको हो ।
लामिछाने कै कमाण्डमा अहिले पनि जनगणनाका विषयगत प्रतिवेदनहरु तयारीका क्रममा छन् । अघिल्ला जनगणनामा जस्तो गरी मोनोग्राफका रुपमा प्रतिवेदनहरु प्रकाशन नगरेर अध्ययनका सजिलोका लागि विभिन्न विधागत क्षेत्रका प्रतिवेदन प्रकाशनको तयारी रहेको छ ।
लामिछानेसँगै धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ,संघीय मामिला मन्त्रालयका उपसचिव कविन्द्र नेपाल,कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्सालले उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । यसैगरी रामग्राम नगरपालिकाका प्रमुख मानबहादुर खड्का लगायतले पुरस्कार पाएका छन् ।
प्रतिक्रिया