काठमाडौं दलित समुदायका नेताहरुले राष्ट्रिय जनगणना २०७८ मा दलित समुदायको वास्तविक तथ्याङ्क चाँडो सार्वजनिक गर्न माग गरेका छन् । राज्यका विभिन्न निकायहरुका अवसर बाँडफाँडमा जनगणनाको तथ्याङ्कलाई आधार लिइने भएकोले यसलाई तत्काल सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र राष्ट्रिय सरोकार नागरिक अभियानले थापाथलीमा गरेको संयुक्त कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् । जनगणना सम्पन्न भएको दुईवर्ष भइसकेपनि आफूले दलितको जनसंख्या कति हो भनेर यकिन भन्न नसकेकोले धेरै ठाउँमा समस्या भोग्नु परेको उनीहरुको भनाइ छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक नन्दलाल सापकोटाले राष्ट्रिय जनगणना २०७८ मा दलितहरुको जनसंख्याको बारेमा एक कार्यपत्र प्रष्तुत गर्नुभएको थियो । कार्यपत्रमा दलित समुदायको जनसंख्याको १३.३७ प्रतिशत रहेको उल्लेख छ । २०६८ सालमा यो संख्या १३.१ प्रतिशत रहेको थियो । कार्यक्रममा प्रष्तुत तथ्याङ्क अनुसार दलितका जनसंख्या ३९ लाख ४ सय ६९ रहेको छ ।
कार्यक्रममा राष्ट्रिय नागरिक सरोकार समितीका संयोजक जीतु गौतमले दलितको जनसंख्या वास्तविक जनसंख्या चाँडो भन्दा चाँडो सार्वजनिक गर्न माग गर्नुभयो । ‘दलितको तथ्याङ्क सार्वजनिक गर्न के के कुराले रोकेको छ ?दलित आयोगले दलित समुदायका थरहरुको नामावली उपलब्ध गराएन भन्ने सुनियो ’ गौतमले भन्नुभयो ‘आफ्नो समुदायका सम्बन्धमा दलित आयोग जिम्मेवार हुनुपर्यो । ’ दलितका कतिपय थरहरु अन्य समुदायसँग पनि मेल खाने भएकोले त्यसमा जनगणनाको टिपोट गर्दा फरक परेको हुनसक्ने बताउनुभयो ।

साँसद रणेन्द्र बराइलीले दलित समुदायको जनसंख्या जानी जानी राज्यले घटाएको बताउनुभयो । कतिपय दलितका घरमा गणक नै नपुगेका,कतिपय ठाउँमा पुगे पनि दलित थरलाई क्षेत्री बाहुनमा समावेश गरिएको आरोप लगाउनुभयो । ‘यो तथ्याङ्कसँग मलाई धेरै विश्वास छैन’ बराइलीले भन्नुभयो ‘किन कि जनगणनामा राखिने गणकमा दलितहरुलाई विभेद गरिएको थियो । हाम्रो समुदायका थोरै मानिस मात्र गणना कार्यमा सामेल गराइयो । ’
पत्रकार बाबुराम विश्वकर्माले राज्यले ठूलो मेहनत गरेर सार्वजनिक गरेको तथ्याङ्कमा विश्वास गर्नुपर्ने बताउनुभयो । उहाँले यस तथ्याङ्कलाई विश्वास नगर्ने हो भने आफूहरुसँग वैकल्पिक तथ्याङ्क हुनुपर्ने बताउनुभयो । ‘यो तथ्याङ्क सही हैन भनेर भन्नलाई हामीसँग के प्रमाण छ ?’ विश्वकर्माले भन्नुभयो ‘हामीले कुनै एक जिल्ला वा स्थानीय तहको अलग्गै सर्वेक्षण गरेर फरक किसिमको तथ्याङ्क ल्याउन सकियो भने बल्ल बहस गर्न सकिन्छ ।’ जनगणनामा थर टिपाउदा वा नागरिकता बनाउदा पनि दलितहरुले गैह्र दलितको थर उल्लेख गरिंदा यो समुदायको जनसंख्या घटेको हुन सक्ने विश्कर्माको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले दलित आयोग लगायत केही आयोगहरुसँग आफूहरुले दलित समुदायका थरको सुची मागेको तर हालसम्म नपाएकोले अन्तिम तथ्याङ्क सार्वजनिक गर्न नसकिएको बताउनुभयो । ‘आजको छलफल पनि दलित समुदायका अगुवा महानुभावहरुको जनगणना तथ्याङ्क का बारेमा धारणा बुझ्नलाई आयोजना गरिएको हो’ रायाले भन्नुभयो ‘तपाईंहरुका सुझाव हामीले नोट गरेका छौं । त्यसलाई कार्यान्वयन गर्ने कोशीश गर्दछौं ।’
कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी हेमराज रेग्मीले दलित समुदायका नेताहरुले तथ्याङ्क नपढी जनसंख्या घट्यो भनेर प्रतिक्रिया दिएको बताउनुभयो । उहाँले गत जनगणनामा भन्दा यस जनगणनामा दलितको जनसंख्या करिब ४ लाले बढेको बताउनुभयो । उहाँले २०६८ सालको जनगणनाको तुलनामा २०७८ सालमा ०.२ प्रतिशत दलितको संख्या बढेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया