पानको साधारण सभामा विज्ञको मतः नेपालको जनसंख्यामा अवसर र चुनौती सँगसँगै 

पानको साधारण सभामा विज्ञको मतः नेपालको जनसंख्यामा अवसर र चुनौती सँगसँगै 

नेपाल पपुलेसन

ललितपुर जनसंख्या विज्ञहरूले नेपालको जनसंख्यामा भइरहेको परिवर्तनका कारण एकै पटक धेरै चुनौती र अवसरसँग सँगै आएको बताएका छन्। शनिवार नेपाल जनसंख्या संघको साधारण सभामा यस क्षेत्रका विज्ञहरूले आफ्ना धारणा राख्दै राष्ट्रिय जनगणना २०७८ को नतिजाले नेपालले जनसाङ्ख्यिक रूपमा अवसर र चुनौती एकै पटक व्यहोरेको बताएका छन्।

जनसंख्या वृद्धिदर घट्नु युवा जनसंख्याको बाहुल्यता बढ्नु,आश्रित अनुपात घट्नु नेपालको वर्तमान जनसंख्याले उपलब्ध गराएका अवसरहरू भएको त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्रा.डा.योगेन्द्र बहादुर गुरुङ बत्ताउँछन्। ‘नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतमा घटेको छ। आश्रित अनुपात ५३ प्रतिशतमा ओर्लिएको छ। सक्रिय उमेरको जनसंख्या ६२ प्रतिशत पुगेको छ। देश विकास गर्ने,समृद्धिका मूल फुटाउने यो भन्दा सुन्दर अवसर अर्को हुन सक्दैन’ गुरूङले भने ‘तर स्थिरतातर्फ गइरहेको जनसंख्या,हिमाली र पहाडी क्षेत्रको घट्दो जनसंख्या वृद्धिदर र बढ्दो अनुपस्थित जनसंख्या नेपालले व्योहोर्नु पर्ने अरू चुनौतीहरू हुन्।’ 

गुरुङले जनसंख्याका अवसरलाई उपभोग र चुनौतीको सामान गर्न पनि राजनीतिक दलहरूले सजग हुनुपर्ने र सरकारले जनसंख्या मैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

 सिडिपिएसकै प्राध्यापक महेन्द्र प्रसाद शर्माले जनसंख्याको क्षेत्रमा काम गरिरहेका संस्थाहरूले यसको महत्त्व नीति निर्मातालाई बुझाउनु पर्ने सुझाव दिनुभयो। ‘नेपालको जनसंख्या प्रवृति कतातिर गइरहेको छ भन्ने कुरा जनगणना २०७८ को नतिजाले स्पष्ट पारिसकेको छ’ शर्माले भन्नुभयो, ‘जनसंख्याका विद्यार्थी र विज्ञ रहेको जनसंख्या संघ जस्ता संस्थाले जनसंख्याको महत्त्व समाजका विभिन्न तहलाई बुझाउन सक्नु पर्दछ।’

सहप्राध्यापक डा.पदमप्रसाद खतिवडाले विश्वव्यापी रूपमा जनसंख्याको मुख्य चुनौति बसाँइसराइ रहेको बताउनुभयो । उहाँले नेपालमा पनि अनियन्त्रित बसाँइसराइका कारण जनसंखिक समस्या सृजना भइरहेको उल्लेख गर्नुभयो । ‘जनसंख्याका समस्या, प्रवृत्ति बुझ्ने र बुझाउन सक्ने डेमोग्राफर अहिले विश्वभरी खाँचो भएको ’ खतिवडाले भन्नुभयो, ‘सङ्घीय,प्रदेश र स्थानीय तहहरूमा डेमोग्राफरको पद सृजना गरेर तथ्याङ्कलाई नियमित अद्यावधिक गरेर योजना निर्माण गर्नुपर्दछ।’

जनसंख्या आयोगकी तत्कालीन सदस्य डा.पञ्चकुमारी मानन्धरले जनगणना २०७८को तथ्याङ्कलाई मिहिन रूपमा केलाएर नीति निर्मार्तालाई पनि बुझाउनु पर्ने बताउनुभयो। जबसम्म राज्यको मूल नीतिले जनसंख्यालाई अपनत्व ग्रहण गर्न सक्दैन तबसम्म हामीले सोचेको जस्तो विकास हुन सक्दैन।

 पानका अध्यक्ष एवं प्रा.डा. केशव प्रसाद अधिकारी पानको साधारण सभामा जनसंख्याका विद्यार्थी र विज्ञको जमघट हुने भएकोले अनुभवको आदानप्रदानबाट मात्र पनि नेपालको जनसंख्या विविध आयामहरू सार्वजनिक हुने बताउनुभयो। ‘जनसंख्याका विविध विषयको अनुभव आदानप्रदानबाट यसलाई नयाँ कोणबाट सोच्न र व्याख्या गर्न सहज हुनेछ भन्ने हेतुले विज्ञहरूको धारणा सुन्ने सेसन राखिएको हो’ अधिकारीले भन्नुभयो।

पाटन बहुमुखी क्याम्पसमा भएको पानको साधारण सभा दोस्रो पटक पनि गणपूरक संख्या नपुगेर स्थगित भएको छ। यसअघि मंसिरको अन्तिम साता पनि गणपूरक संख्या नपुगेर साधारण सभा स्थगित भएको थियो। विधान अनुसार पुस ९ गते तेस्रो पटकलाई पुन पानको साधारण सभा बोलाइएको छ। उक्त साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष केशव प्रसाद अधिकारीले बताउनुभयो।