नेपालमा सहरी जनसंख्या अघिल्लो दशक भन्दा १० प्रतिशतले बढ्यो

नेपालमा सहरी जनसंख्या अघिल्लो दशक भन्दा १० प्रतिशतले बढ्यो

नेपाल पपुलेसन

काठमाडौं- पछिल्लो १० वर्षमा सहरी जनसंख्या बढेर कुल जनसंख्याको २७.०७ प्रतिशत पुगेको छ । ०६८ को जनगणनाको तुलनामा ०७८ मा सहरी जनसंख्या बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । कार्यालयले ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको प्रतिवेदन सार्वजनिक गर्दै जनगणना ०६८ र ०७८ को बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ पुगेको बताइएको छ ।

त्यसैगरी, सहरोन्मुख जनसंख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको देखिन्छ ।’
प्रतिवेदनअनुसार विशेषताका आधारमा सहरोन्मुख क्षेत्र मानिएको स्थानमा अझै पनि जनसंख्याको ठूलो हिस्सा बसोवास गरेको देखिन्छ । ग्रामीण जनसंख्या अझै पनि एकतिहाइ छ । प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले व्यवस्थापन गर्न कठिनाइ भएको प्रतिवेदनमा जनाएको छ । त्यस्तै, ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको उल्लेख छ ।

भौगोलिक क्षेत्रका आधारमा ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत छ । हिमालमा १६ प्रतिशत जनसंख्या रहेको प्रतिवेदनमा उल्लेख छ । सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ प्रतिशत रहेको उल्लेख छ । पोखरा महानगरपालिका र काठमाडौंका उपत्यकाका कारण असन्तुलित हुँदै सहरी जनसंख्या पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशतमा केन्द्रित भएको देखिएको छ ।
महानगरपालिकाको २.३ प्रतिशत जनसंख्या अझै ग्रामीण क्षेत्रमा
महानगरपालिकामा १७ प्रतिशत सहरोन्मुख क्षेत्र रहेको तथा २।३ प्रतिशत ग्रामीण विशेषताको र ८०.७ प्रतिशत सहरी क्षेत्र रहेको तथ्यांकमा उल्लेख छ । गाउँपालिकाको दुई हजार चार सय १२ वडामा ५८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्र रहेको देखिन्छ । जबकि, अधिकतम सहरोन्मुख ६ सय ६४ वडामा ३६।१ प्रतिशत र सहरकेन्द्रित एक सय ३९ वडामा ५।९ प्रतिशत जनसंख्या रहेको देखिन्छ ।

त्यस्तै, नगरपालिकाको २८.४ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा पाँच सय ९१ वडा, करिब ४६ प्रतिशत सहरोन्मुख क्षेत्रमा १२ सय ८५ वडा र अझै पनि २५।४ प्रतिशत १२ सय ४४ वडा ग्रामीण क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ । उपमहानगरपालिकामा पनि ३९ प्रतिशत जनसंख्या सहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत सहरी वर्गीकरणको क्षेत्रमा बसोवास गर्ने गरेको देखिन्छ । नगरपालिका भए पनि बसोवास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख नै रहेको तथ्यांकले देखाउँछ । त्यसैगरी, सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको संख्या धेरै तीन हजार ६ सय ८५ छ । ती क्षेत्रमा कुल जनसंख्याको ३३ प्रतिशत बसोवास गर्ने देखिन्छ ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई सहरी क्षेत्रका रूपमा परिभाषित भएको हालको अवस्थामा नीतिनिर्माण कार्यमा सहजता नभएको कार्यालयले उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘महानगर, उपमहानगर तथा नगरपालिककाभित्र पनि ग्रामीण चरित्रका बस्ती प्रशस्त मात्रामा रहेका तथा गाउँपालिकाका बजार तथा केन्द्रहरू ससाना सहरका रूपमा सिस्तार हुँदै गइरहेको परिप्रेक्ष्यमा सहरीकरणका आयामलाई फरक ढंगले केलाई पुनः परिभाषित गर्नु जरुरी भइसकेको थियो ।’ राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत छ ।

सहरी र ग्रामिण जनसंख्या सम्बन्धी प्रतिवेदन अध्ययन गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

https://censusnepal.cbs.gov.np/results