जनगणना विधिले गर्दा गाउँपालिकाको जनसङ्ख्या घट्यो, वास्तविकता त्यस्तो होइन

जनगणना विधिले गर्दा गाउँपालिकाको जनसङ्ख्या घट्यो, वास्तविकता त्यस्तो होइन

नेपाल पपुलेसन

भक्तपुर- गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुले जनगणना लिने प्रक्रियालाई संसोधन गर्नुपर्ने बताएका छन्। उनीहरुले अस्थायी बसोबासको आधारमा जनगणना लिने प्रक्रियाले गर्दा हिमाली,पहाडी र गाउँपालिका क्षेत्रमा जनसंख्या घटेको उनीहरुले बताएका छन् ।

गाउँपालिका महासंघले आयोजना गरेको प्रदेश समन्वय परिषदको कार्यक्रममा हिजो ‘नेपालको जनगणना २०७८ र यसको प्रभाव’ विषयमा पत्रकार चेतन अधिकारीले पेश गरेको कार्यपत्रमा टिप्पणी गर्दै तेह्रथुमको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले जनगणनाका समयमा कुनै पनि गणक आफूलाई भेट्न पनि नआएको र आफ्नो गणना समेत नभएकोले यो तथ्यांकमा आफूलाई विश्वास नलागेको बताउनुभयो । ‘अर्कोकुरा कोही मान्छे जागिर वा पढलेख गर्न घर छोडेर केही समयलाई हिड्यो भन्दैमा उसको जनगणना नै अर्को ठाउँबाट गरिदिने चलन गलत छ’ लिम्बूले भने ‘यसले गर्दा सहरी क्षेत्रको जनसंख्या बढेको देखियो। हाम्रो जस्तो गाउँले ठाउँको जनसंख्या घटेको देखियो । जनगणना गर्ने विधी परिवर्तन गर्नु पर्दछ।’

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गीरीले जनगणनाले जथाभावी तथ्यांक निकालिदिएकोले संघीय सरकार र प्रदेश सरकारबाट जाने रकममा पनि तलमाथी परेको बताउनुभयो । ‘यो जनसंख्या मलाई वास्तविक जस्तो लाग्दैन’ गीरीले भन्नुभयो ‘यो तथ्यांक माथी सबैतिरबाट प्रश्नै प्रश्न छन् । ’ कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जनगणना गर्न स्थानीय तहलाई नै दिनुपर्ने बताउनुभयो । ‘मैले समाचारमा हेरें जनगणनामा पनि धेरै करिब ८ लाख मान्छे छुटेका रहेछन् ’मगरले भने ‘त्यसैले यो विश्वसनीयतामा यसै प्रश्न उठेको छ । जनगणनाको विश्वसनीयता बढाउने भए स्थानीय तहलाई जिम्मा दिए हामी वास्तविक तथ्यांक निकाल्ने छौं ।’ बडीगाड गाउँपालिका बाग्लुङकी उपाध्यक्ष्य गण्डकी थापा अधिकारीले जनगणनाले दिएको नतिजामा गाउँको जनसंख्या थोरै देखिएपछि पालिकाले आफैं गणना गर्दा ६ हजार जनसंख्या बढी आएको बताउनुभयो । उहाँले पनि स्थायी बसोबासलाई नै आधार बनाएर जनगणना गर्नुपर्ने राय राख्नु भएको छ ।