गाउँको जनसंख्या घटेको घट्यै

गाउँको जनसंख्या घटेको घट्यै

गाउँलेहरु प्रश्न गर्छन् किन बिरक्तिएर गाउँ छोड्दै हिडेका होलान् ?

नेपाल पपुलेसन

काठमाडौं- हिमाल पहाडी क्षेत्रका ३६ वटा गाउँपालिकाको जनसंख्या वृद्धिदर द्रुतगतिले घटेको देखिएको छ । २०६८ देखि २०७८ को एक दशकमा यी गाउँपालिकाहरुले हरेक वर्ष २ प्रतिशत देखि साढे ३ प्रतिशतसम्म जनसंख्या क्षति व्योहोरेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार हिमाली र पहाडी क्षेत्रका गाउँपालिकाहरुमा द्रुत गतिमा जनसंख्या घट्ने क्रम देखिएको हो । यो दशकमा सबभन्दा बढी जनसंख्या घटेको गाउँपालिका सोलुखुम्बूको नेचासल्यान हो । २०६८ सालको जनगणनामा यहाँको जनसंख्या १६ हजार १ सय २९ रहेकोमा २०७८ सालमा जनसंख्या घटेर ११ हजार ३ सय ८१ पुगेको छ । यहाँको वार्षिक जनसख्या वृद्धिदर –३.३५ रहेको छ । यसैगरी खोटाङको खोटेहाङ गाउँपालिकाको जनसंख्या २.७७ प्रतिशतले घटेको छ । यहाँ २०६८ सालमा २२ हजार ४ सय ७४ जनसंख्या रहेकोमा २०७८ सालमा १६ हजार ८ सय ४४ मात्र रहेको छ । कुन पालिकामा के कति जनसंख्या घट्यो भन्ने कुरा तालिकाबाट स्पष्ट हुन्छ ।

जनसंख्या द्रुत गतिमा घट्ने कारण के होला त ?
गाउँगाउँमा सडक पुगेकै छ । विद्यालय खोलिएकै छन् । खाद्यान्नको किनबेच गाउँघरमै छ । यातायात पुगेसँगै परम्परागत फलफूल र तरकारीले बजार पनि पाउन थालेका छन् । गरे देखि गाउँमै रोजगारी सहित केही रकम पनि मानिसहरुले कमाउन थालेका छन् । तर किन मान्छेले पहाडका गाउँघर छाडेर बिरानो बनाएका होलान् ?


यसका विविध कारणहरु छन् । मानिसले हतपत्त आफ्नो पुख्र्यौली थातथलो छोडेर नयाँ ठाउँमा बसोबास गर्न जादैन । तर हाम्रा पहाडहरुमा किन यस्तो समस्या आइपरेको होला त ? समयक्रमसँगै अहिलेको विकासले मानिसका आवश्यकता पुरा गर्न छोडेको छ । विकास परम्परागत ढाँचामा नै छ । तर मानिसका आकांक्षा द्रुत गतिमा चुलिएका छन् । जसले गर्दा गाउँमा मानिसका चुलिएका आकांक्षाहरु पुरा हुन छाडेपछि थातथलो छोड्दै बसाँइ हिड्ने क्रम बढेको छथर जोरपाटी गाउँपालिका धनकुटाकी उपाध्यक्ष गीता गुरुङ खेवा बताउछिन् । खेवाका अनुसार मानिसहरुलाई रोक्न जति नै प्रयत्न गरे पनि मधेसतिरै आँखा लगाउने र गाउँ छोड्ने गरेको उनको भनाइ छ ।
सुचना प्रविधिको बढ्दो प्रयोगले गर्दा मानिसहरु एकैछिनमा धेरै कुरा बुझ्न सक्ने भएकाले उनीहरुले सुविधासम्पन्न तराई र सहरी क्षेत्रमा पाइने भौतिक सुख र गाउँमा पाइने सुखको तुलना गर्दै उन्नत जीवनका लागि मधेस झर्ने गरेको खेवा बताउछिन् ।
मानिसहरु गाउँका घर रित्याउदै तराई र सहरतिर झर्ने अर्को कारण भनेको बैदेशिक रोजगारी पनि भएको विज्ञहरु बताउछन् । केही वर्ष अघि समाजशास्त्री गणेश गुरुङले गरेको अध्ययन अनुसार बैदेशिक रोजगारीमा गएका युवाहरु फर्किंदा आफ्ना साविक गाउँ नभइ सहर वा तराईतिर फर्किने गरेको पाइएको थियो । गुरुङले आफ्नो अनुभव सुनाए अनुसार पहिलो पटक बैदेशिक रोजगारीबाट फर्किंदा श्रीमती छोराछोरीलाई सहर वा तराईतर्फ अस्थायी बसाँइसराइ गराउने,दोस्रो पटक फर्किदा त्यस ठाउँमा घरै बनाएर स्थायी बसाँई सार्ने प्रचलनले हिमाल र पहाडी क्षेत्रका गाउँहरु रित्तिएका हुन् । ‘बैदेशिक रोजगारीमा जाने युवाहरुको सख्या नरोकिएसम्म गाउँ खाली हुने क्रम रोकिने देखिदैन ’ गुरुङले केही समय पहिले भन्नुभएको थियो ‘हाम्रा पहाड रित्तिने मुख्य कारण बैदेशिक रोजगार एक महत्वपूर्ण तत्व हो ।’


देशका ३४ वटा जिल्लाको घट्दो जनसंख्याका त्यसैगरी पहाडी क्षेत्रका धेरै पालिकाहरुको घट्दो जनसंख्याले सामाजिक रुपमा नै उथलपुथल सृजना गरेको स्थानीयबासिन्दाहरु बताउछन् । अस्तव्यस्त ढंगले भएको बसाँइसराईका कारण सामाजिक प्रबन्धहरु ख्लबलिन थालेको पनि उनीहरु बताउछन् । सुर्खेतको सिम्ता गाउँपालिकाका ३ का हरी मगरका अनुसार कतिपय ठाउँहरुमा निश्चित समुदायका मानिसहरु भेटिनै छोडेका छन् । जसले गर्दा श्राद्ध गर्न ब्रम्हाण नपाउने,कतै लुगा सिउन दर्जी नपाउने समस्या देखिएको छ । ‘खै किन मान्छेको मन विरक्तिएको बुझिएको छैन । तर हिंउद लागेपछि बर्दीया र कैलाली झर्नेहरुको लस्कर देखेर हामीलाई पनि गाउँ छोड्नु कि बस्नु जस्तो हुन्छ ।’
बरालिएका मान्छेलाई गाउँमै राख्न पालिका,प्रदेश सरकार र संघीय सरकारको एकै खालको कार्यक्रम हुनुपर्ने मगर बताउछन् । सबभन्दा पहिले त मान्छे किन बरालिएर हिडेका हुन् पत्ता लगाएर अनि निधानको उपाय खोज्नु पर्ने उनी बताउछन् ।