जनसंख्या असन्तुलनको समस्या सम्बोधन गर्न ढिलाइ नगर्न सुझाव

जनसंख्या असन्तुलनको समस्या सम्बोधन गर्न ढिलाइ नगर्न सुझाव

नेपाल पपुलेसन

काठमाडौं- विविध कारणले थातथलो छोडेर नयाँ ठाउँमा बसोबास गर्नेहरु बढ्दै जाँदा देशको जनसंखिक अवस्थामा व्यापक असन्तुलन देखिएको तथ्यांकले देखाएको छ ।
नेपाल जनसंख्या संघ (पान)ले आयोजना गरेको ‘पपुलेसन एण्ड डेभलपमेन्ट डिस्कोर्स’को पहिलो संस्करणमा प्रष्तुत गरिएको तथ्यांकले २३ प्रतिशत भूभाग ओगटेको तराइमा जनसंख्याको ५४ प्रतिशत हिस्साको बसोबास हुनु र ७७ प्रतिशत भूभाग ओगटेको हिमाल र पहाडमा ४६ प्रतिशत मात्र जनसंख्याको बसोबास हुनुले नीतिगत रुपमा नै यो समस्यालाई सम्बोधन गर्नुपर्ने स्थिती सृजना गरेको बताइएको छ ।
त्रिवि जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस)का प्रमुख प्रा.डा.योगेन्द्र बहादुर गुरुङले प्रष्तुत गरेको चेन्जिङ पपुलेसन स्ट्रक्चर एण्ड माइग्रेसन इन नेपाल विषयक कार्यपत्रमा पहाडी भूगोलको जनसंख्यामा काठमाडौं र पोखरा उपत्यकालाई अलग गरिदिने हो भने हिमाल र पहाडमा २९ प्रतिशत मात्र जनसंख्याको बसोबास भएको उल्लेख छ । गुरुङले जनसंख्या वितरणको यो गम्भिर समस्यालाई हल गर्न सरकारले कुनै ढिलाइ गर्नु नहुने तर्क राख्नु भयो । ‘जनसंख्याको आधा भन्दा बढी हिस्सा तराइमा केन्द्रित हुँदा यहाँको भूगोलले थेग्न मुस्किल छ । अर्कातिर उर्वर जमिनमा कंक्रिटका घरहरु मात्र बन्ने हो भने देशमा खाद्यान्न परनिर्भरता बढेर जान्छ’ गुरुङले भने ‘त्यसैले मानिसका आवश्यकतालाई बुझेर नीति र विकासका कार्यक्रम बनाउनु पर्दछ । जनसंख्याको सन्तुलित वितरणलाई सरकारले प्राथमिकतामा राख्नु पर्दछ । ’


गुरुङले प्रष्तुत गरेको कार्यपत्रमा सन् १९३० पछि अहिले नेपालको जनसंख्या वृद्धिदर सबैभन्दा न्यून रहेको उल्लेख छ । करिब ८० वर्षपछि नेपालको जनसंख्याको वृद्धिदर न्यून विन्दुमा पुगेको उनले बताए । उनले भने ‘नेपालमा अब जनसंख्या वृद्धि समस्या होइन । जन्म र मृत्यू समस्या रहेनन् तर अहिलेको मुल समस्या बसाँइसराइ हो । ’ गर्भपतन सम्बन्धी कानुनी अपव्याख्या गर्दै लिंग पहिचान गरेर गर्भपतन गराउने प्रचलनले लैंगिक रुपमा नयाँ जनसंखिक असन्तुलन देखिएको उनले बताए । अहिले १०० जना छोरीको जन्महुँदा ११२ जना छोराको जन्महुने गरेको बताए । छोेरी जन्मने दर ठूलो मात्रामा घट्दा यसले अर्को असन्तुलन खडा गर्ने उनले बताए । उनका अनुसार धनुषा जिल्लामा १०० जना छोरी जन्मदा १३३ जना छोरी जन्मने गरेको तथ्यले सबै गम्भिर हुुनु पर्ने बताए । गुरुङको कार्यपत्र अनुसार ० देखि ४ वर्षको जनसंख्यामा १ लाख ४१ हजार ७ सय ६२ छोराको जनसंख्या बढी देखिएको छ ।


कार्यक्रममा त्रिवि मानवशस्त्र विभागका प्रमुख डा.विनोद पोखरेलले जलवायु परिवर्तन,प्राकृतिक प्रकोप,दन्द्वका कारण मानिसहरु विस्थपित हुने क्रम बढेको बताए । उनका अनुसार यस प्रकारको विस्थापनले पनि जनसंख्याको सन्तुलन बिग्रिएको हो । सरकारले मानिसहरु बसेको ठाउँ प्राकृतिक रुपमा बस्न लायक छ कि छैन यकिन गर्नुपर्ने पोखरेलले बताए । ‘सिन्धुपाल्चोकको जुरेका पहिरोबाट विस्थापित आज कहाँ होलान् ? खोटाङको धारापानीमा पानी नपाएर विस्थापन भएकाहरु कहाँ होलान् ? यस्तै विभिन्न राजनीतिक कारणले विस्थापनमा परेकाहरु कहाँ पुगेका होलान् ’ पोखरेलले भने ‘यी सबै प्रकारका फोर्सफूल माइग्रेसनको सम्बोधन राज्यले गर्नु पर्दछ । ’


कार्यपत्र माथी टिप्पणी गर्दै संघीय मामिला तथा स्थानीय मन्त्रालयका सहसचिव नारायण रेग्मीले जनसंख्याको असमान वितरणले नेपालको विकासको ढाँचा नै बदल्नु पर्ने स्थिती आएको बताए । यस प्रकारका बहसहरु नीतिगत ठाउँमा गर्न उनले सुझाव दिए । जनसंख्याका विविध आयमहरुमा छलफल गर्न नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघ उपयुक्त हुने रेग्मीले बताए । अकी टिप्पणीकार पुकार एशियाकी कार्यक्रम व्यवस्थापक नीति पोखरेलले जनसंख्या समस्यालाई लैंगिकता र क्रस सेक्सनल रुपमा बुझ्न र त्यसै अनुरुप बहस गर्नुपर्ने बताइन् ।
कार्यपत्र माथी सहभागीहरुले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए । पानका अध्यक्ष पद्मप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव प्रदिप बोहोराले स्वागत मन्तव्य राखेका थिए ।